सम्भावित विपद् सामना गर्न स्वास्थ्य जनशक्ति र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन

743 Shares

काठमाडौं । सम्भावित भारी वर्षा, बाढीपहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै पूर्वतयारी र प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। यसबाट बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न भनिएको छ।

एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाले जारी गरेको परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपत्कालीन सम्पर्क व्यक्ति तोक्न र उनको सम्पर्क विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।

त्यसैगरी, हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।

विपद्का बेला आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ। घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवा सहज र प्रभावकारी बनाउनुपर्ने परिपत्रमा उल्लेख छ।

एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन पनि प्रदेशका केन्द्रलाई आग्रह गरेको छ।

सम्भावित विपद्का कारण स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य प्रतिकार्य परिचालन गर्न निर्देशन दिइएको हो।

सम्बन्धित समाचार