काठमाडौँ । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले चिकित्सकको परामर्शअनुसार बिरामीलाई नियमित औषधि सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्रीवितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको हो।
विभागले विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ किसिमका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। ती औषधिको दर्ता प्रमाणपत्रसमेत खारेज हुने भए पनि यसअघि नै बजारमा भित्रिएका वा बिक्रीवितरणमा रहेका औषधिको बिक्री तथा प्रयोगमा प्रतिबन्ध नरहेको विभागले स्पष्ट पारेको छ।
इम्युनोसप्रेसेन्ट औषधिले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम वा दबाउने काम गर्छ। यस्ता औषधि विशेषगरी अङ्ग प्रत्यारोपण गरेका तथा केही दीर्घकालीन रोग भएका बिरामीको उपचारमा प्रयोग गरिन्छन्। त्यसैले यस्ता औषधिको आपूर्तिमा अभाव हुन नदिन विभाग प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
विभागका अनुसार औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न तथा एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् एकअर्कामा मिसावट हुने सम्भावना न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको हो।
यसका लागि विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक मापदण्डअनुरूप जोखिम व्यवस्थापन, सफाइ प्रमाणीकरण, छुट्टै हावा आवतजावत प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमा पालना गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। जोखिमको स्तरअनुसार सम्बन्धित औषधि छुट्टै उत्पादन सुविधामा उत्पादन गर्नुपर्ने प्रावधानसमेत लागू गरिएको छ।
विभागले औषधिको उत्पादन तथा आयातमा रोक लगाउने निर्णय औषधिको गुणस्तर र सुरक्षासँग सम्बन्धित मापदण्ड पालना गराउने उद्देश्यले गरिएको जनाएको छ।
जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका उद्योग तथा आयातकर्तालाई बजारमा औषधिको आपूर्ति सन्तुलित राख्न बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको विभागले जनाएको छ।
औषधिको सहज उपलब्धता सुनिश्चित गर्न नेपाल औषधि उत्पादक सङ्घ, नेपाल औषधि आयातकर्ता सङ्घ तथा नेपाल औषधि व्यवसायी सङ्घसँग समन्वय भइरहेको पनि विभागले जनाएको छ।
यसैबीच, जारी सूचनाविपरीत नयाँ उत्पादन वा आयात गरिएको औषधिको प्रयोगबाट कुनै व्यक्तिमा प्रतिकूल असर परेमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि उपलब्ध गराउने वा प्रयोग गराउने निकाय अथवा व्यक्तिले लिनुपर्ने विभागले चेतावनी दिएको छ।
विभागले बिरामीलाई चिकित्सकको सल्लाहबिना औषधि सेवन बन्द नगर्न र औषधिसम्बन्धी कुनै अन्योल भएमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेको छ।