सुदूरपश्चिमको ३७ अर्बभन्दा बढीको बजेट पारित

673 Shares

धनगढी । करिब तीन महिनादेखि बजेट शून्यताको अवस्था झेलिरहेको सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बहुमतका आधारमा बजेट पारित गरेको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ६९ करोड ६२ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेट विनियोजन तथा आयोजना छनोटका विषयमा विवाद उत्पन्न भएपछि पारित प्रक्रिया लम्बिएको थियो ।

बजेटमा अनियमितता भएको, आयोजना छनोट तथा रकम विनियोजनमा पहुँचका आधारमा निर्णय गरिएको र बिचौलियाको प्रभाव परेको भन्दै प्रश्न उठेपछि सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको थियो । विवाद समाधानका लागि बजेट पारित गर्ने र त्यसपछि संसदीय समितिमार्फत अध्ययन गरी आवश्यक सुधार गर्ने सहमति भएको हो ।

प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीका अनुसार बजेटको अध्ययन गर्न दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय संसदीय छानबिन समिति गठन गरिनेछ । समितिले आगामी कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउनेछ । उक्त प्रतिवेदनका आधारमा सरकारले पूरक बजेट ल्याउने तयारी गरेको छ ।

बजेटसम्बन्धी विवादका कारण सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले समेत असन्तुष्टि जनाएका थिए । विवादित विषयको छानबिन गरी आवश्यक सुधार गर्ने सहमति भएपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढेको हो ।

यता, बजेट निर्माण प्रक्रिया र रकम विनियोजनप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । कांग्रेसले बजेट निर्माणमा पर्याप्त समन्वय नभएको तथा विनियोजन प्रक्रियामा प्रश्न उठेको भन्दै विरोध जनाएको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता समीकरण परिवर्तन भएपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि प्रदेशमा लामो समयसम्म बजेट शून्यताको अवस्था कायम रह्यो ।

बजेट पारित भएसँगै प्रदेश सरकारलाई चालु आर्थिक वर्षको वित्तीय व्यवस्थापन अघि बढाउने बाटो खुलेको छ । यद्यपि, बजेटमा उठेका प्रश्नको निरूपण, संसदीय समितिको प्रतिवेदन र पूरक बजेटमार्फत गरिने संशोधनले आगामी आर्थिक गतिविधिको दिशा निर्धारण गर्नेछ ।

सम्बन्धित समाचार