बझाङ । दसैँमा आमाको हातबाट टीका र जमरा लगाउने, तिहारमा परिवारसँग खुसी साट्ने रहर सबैलाई हुन्छ । तर बझाङको साइपाल गाउँपालिकाका भेडाच्याङ्ग्रा व्यापारीका लागि दसैँ–तिहार परिवारसँग रमाउनेभन्दा व्यापारमा खटिने समय बनेको छ । हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा पोखरा र काठमाडौंका उपभोक्तासम्म पुर्याउने जिम्मेवारीका कारण उनीहरू वर्षौंदेखि चाडपर्व बाटोमै बिताउन बाध्य छन् ।
साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुर बोहराले १५ वर्षभन्दा बढी समयदेखि दसैँमा आमाको हातबाट टीका लगाउन पाएका छैनन् । भेडाच्याङ्ग्राको व्यापार उनको परिवारको आम्दानीको महत्त्वपूर्ण स्रोत हो । त्यसैले चाडपर्वका बेला घर फर्किन मन लागे पनि व्यापारको जिम्मेवारीले उनलाई बजारतर्फ लैजान्छ ।
आमाको आशीर्वाद फोनबाटै लिनुपर्ने र परिवारलाई चाडपर्वको शुभकामना पनि फोनबाटै दिनुपर्ने बाध्यता रहेको घुरन बताउँछन् । ‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन । परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्,’ उनी सुनाउँछन् ।
साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उनले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन् । ‘वर्षभरिको आम्दानी हुने चाडबाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ,’ उनी भन्छन् ।
घुरन र उज्ज्वलजस्ता व्यापारी तथा सहयोगीको सङ्ख्या साइपालमा सयभन्दा बढी छ । भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौं पुग्ने व्यापारीको सङ्ख्या डेढ सयभन्दा बढी रहेको स्थानीय व्यापारी बताउँछन् । पशु बिक्री गर्न समय लाग्ने भएकाले चालक फर्किए पनि व्यापारी र सहयोगीको चाडपर्व भने बजारमै बित्ने गरेको छ ।
साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउन सन् २०११ अर्थात् विसं २०६८ देखि थालिएको हो । त्यसअघि स्थानीय युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे ।
घुरनबहादुर पनि विसं २०६४ मा सहयोगीका रूपमा पोखरा पुगेका थिए । चार वर्षसम्म पशुको हेरचाह, ढुवानी र बिक्रीसम्बन्धी अनुभव हासिल गरेपछि उनले आफ्नै समूह बनाएर व्यापार सुरु गरे ।
सुरुका वर्षमा भेडाच्याङ्ग्रा हिँडाएरै लामो दूरी पार गर्नुपर्थ्यो । विभिन्न जिल्लाका बाटो हुँदै पोखरा पुग्न एक महिनासम्म लाग्ने गरेको घुरन बताउँछन् । अहिले भने ट्रकमा ढुवानी गर्न थालिएको छ । यद्यपि पशुलाई निरन्तर गाडीमा राख्न नमिल्ने भएकाले यात्रा अझै चुनौतीपूर्ण छ ।
उच्च हिमाली क्षेत्रमा प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासु पोखरामा लोकप्रिय हुँदै गएपछि काठमाडौंसम्म बजार विस्तार भएको व्यापारीको अनुभव छ । माग बढेसँगै स्थानीय पशुपालकले उत्पादन गरेको भेडाच्याङ्ग्रालाई टाढाका बजारसम्म पुर्याउने अवसर पनि बढेको छ ।
साइपाल गाउँपालिकाबाट यस वर्ष ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौंका लागि पठाइएको छ । गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो । जिल्लाभरबाट भने करिब ६० ट्रक बराबर भेडाच्याङ्ग्रा पोखरातर्फ जाने गरेको स्थानीय व्यापारीको भनाइ छ ।
एउटा ट्रकमा औसत ६५ वटा भेडाच्याङ्ग्रा अटाउने हिसाबले यस वर्ष साइपालबाट करिब २ हजार ४७० वटा पशु ढुवानी भएका छन् ।
गाउँपालिकाले निर्यात हुने प्रत्येक भेडाच्याङ्ग्राबापत १०० रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहका अनुसार कार्यपालिकाको निर्णयअनुसार उक्त राजस्व उठाउने गरिएको हो ।
यस हिसाबले ३८ ट्रकमा औसत क्षमताअनुसार ढुवानी भएका २ हजार ४७० वटा भेडाच्याङ्ग्राबाट गाउँपालिकाले करिब २ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सक्छ । यद्यपि वास्तविक राजस्व पशुको यकिन सङ्ख्यामा निर्भर हुन्छ ।
भेडाच्याङ्ग्राको व्यापारमा लगानीसँगै जोखिम पनि उत्तिकै छ । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउँदा खरिद मूल्यबाहेक पाँच हजार रुपैयाँसम्म अतिरिक्त खर्च लाग्छ ।
गाउँमै एउटा भेडाच्याङ्ग्रा खरिद गर्न २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने व्यापारी बताउँछन् । त्यसमा ढुवानी, चरिचरन, खाना र जनशक्तिलगायतका खर्च थपिन्छन् । तर बजारमा अपेक्षित मूल्य नपाएमा लगानी डुब्ने जोखिम रहन्छ ।
‘२५–३० हजारसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ, तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ,’ धामी भन्छन् ।
गत वर्ष बझाङबाट लगिएका भेडाच्याङ्ग्राको पहिचानबारे अफवाह फैलिएपछि बजार प्रभावित भएको र व्यापारीले घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।
बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ । परिस्थितिअनुसार यात्रा एक सातासम्म लम्बिन सक्छ । पशुलाई दिनभर गाडीमा राख्न नमिल्ने भएकाले बिहानदेखि दिनभर चरन क्षेत्रमा राखेर साँझपछि मात्रै यात्रा अघि बढाइन्छ ।
यात्राका क्रममा पशु चराउन ठाउँ खोज्नु, स्थानीयसँग अनुमति लिनु र आवश्यक खर्च व्यवस्थापन गर्नु व्यापारीका लागि थप चुनौती हुन् । चरनको अभाव, पशु बिरामी पर्ने वा बाटोमै मर्ने जोखिमले आर्थिक नोक्सानी बढाउँछ ।
व्यापारीहरूले आवश्यक कागजात हुँदाहुँदै पनि बाटोमा सुरक्षा निकायबाट झन्झट बेहोर्नुपरेको गुनासो गरेका छन् । घुरनबहादुरका अनुसार निर्यातका लागि आवश्यक कागजात तयार गरेर हिँड्दा पनि विभिन्न स्थानमा कागजातसम्बन्धी समस्या देखाएर रोक्ने गरिएको छ ।
भेडाच्याङ्ग्रा लामो दूरीमा ढुवानी गर्दा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने पशु चिकित्सक बताउँछन् । रोग तथा सङ्क्रमण फैलिने जोखिम कम गर्न स्वास्थ्य परीक्षण र आवश्यक कागजात पूरा गरेपछि मात्रै पशु पठाउने गरिएको छ ।
पशु चिकित्सक डा. रवि थारूका अनुसार भेडाच्याङ्ग्रा निर्यात गर्नुअघि स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परे प्राथमिक उपचारका औषधि व्यवस्थापन गर्ने र सम्बन्धित कागजात पूरा गर्ने गरिएको छ ।
उनका अनुसार ठूलो सङ्ख्यामा पशु एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा परीक्षण नगरी पठाएमा रोग तथा सङ्क्रमण फैलिने जोखिम रहन्छ । त्यसैले परीक्षणपछि मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था अपनाइएको हो ।
पोखरा र काठमाडौंका उपभोक्ताले दसैँका बेला भेडाच्याङ्ग्राको मासु उपभोग गरिरहँदा त्यसलाई बजारसम्म पुर्याउने व्यापारी भने परिवारबाट टाढा हुन्छन् । उनीहरूको श्रमले बजारमा चाडपर्वको माग धान्न सहयोग पुर्याए पनि आफ्नै परिवारसँग पर्व मनाउने अवसर भने वर्षौंदेखि छुटिरहेको छ ।
कहिलेकाहीँ बाटोमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरेरै चाड मनाएको अनुभूति गर्नुपर्ने अवस्था रहेको स्थानीय व्यापारी बताउँछन् । उनीहरूका लागि दसैँ–तिहार आम्दानी जुटाउने महत्त्वपूर्ण अवसर हो, तर त्यससँगै पारिवारिक भेटघाट र चाडपर्वको खुसी त्याग्नुपर्ने बाध्यता पनि जोडिएको छ ।