सुदूरपश्चिममा बजेट सार्वजनिक अनिश्चित, बिहान ९ बजेको बैठक दिउँसो २ बजे

491 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि सरेको छ। बजेट सार्वजनिक गर्ने कार्यसूचीसहित आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो।

बजेट सार्वजनिक गर्न आवश्यक तयारी पूरा नभएपछि प्रदेशसभा बैठक पटकपटक सर्दै आएको छ। शनिबार पनि बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित बिहान ८ बजे र त्यसपछि दिउँसो ४ बजेका लागि बैठक बोलाइएको थियो। तर, तयारी पूरा नभएपछि बैठक बस्न सकेन।

शनिबार रातिसम्म पनि प्रदेश सरकारको बजेट वक्तव्य लेखन तथा योजनाहरूलाई प्रदेशको बजेट प्रणालीमा प्रविष्ट गर्ने काम जारी रहेको थियो।
बजेटकै विषयमा छलफल गर्न शनिबार सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका प्रदेशसभा सदस्यहरूको बैठकसमेत बसेको थियो।

उक्त बैठकमा आइतबार बजेट सार्वजनिक गर्ने सहमति जुटेको बताइएको थियो। तर, बैठक पुनः सरेसँगै सहमतिअनुसार बजेट सार्वजनिक हुने विषयमा अन्योल कायम छ।

प्रदेश सरकारले समयमै बजेट ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेश तीन महिनादेखि बजेटविहीन अवस्थामा छ। चालु आर्थिक वर्ष सुरु भएदेखि नै बजेट अभाव भएपछि प्रदेश सरकारको दैनिक कामकाज र आर्थिक व्यवस्थापन प्रभावित भएको छ।

बजेट अभावको प्रत्यक्ष असर सरकारी कर्मचारीमा समेत परेको छ। चाडपर्व नजिकिँदासमेत कर्मचारीले तलब पाउन सकेका छैनन्। मन्त्रालय तथा मातहतका कार्यालयलाई नियमित कामकाज सञ्चालन गर्न र आर्थिक दायित्व व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको छ।

प्रदेशसभाको बैठक पटकपटक सर्दै जाँदा बजेट कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा अन्योल बढेको छ। बजेट पारित तथा कार्यान्वयन प्रक्रिया अघि बढ्न नसक्दा प्रदेशको प्रशासनिक र आर्थिक गतिविधिमा थप असर पर्ने देखिएको छ।

सम्बन्धित समाचार