आमा–नवजातको स्वास्थ्य निगरानी अब घरबाटै, महानगरले ल्यायो पीएनसी घरभेट कार्यक्रम

596 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था घरमै पुगेर जाँच गर्ने ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

महानगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था थप संवेदनशील हुने भएकाले प्रसूतिपछिको अवधिमा नियमित स्वास्थ्य निगरानी आवश्यक पर्ने महानगरपालिकाले जनाएको छ।

सहरी क्षेत्रमा बढ्दो व्यस्त जीवनशैली, परिवारको बदलिँदो संरचना तथा स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउनुपर्ने अवस्थाका कारण सुत्केरी आमा र नवजात शिशुले पर्याप्त उत्तर प्रसूति स्याहार नपाउने अवस्था देखिएको महानगरपालिकाको भनाइ छ।

महानगरपालिकाका अनुसार अस्पताल वा स्वास्थ्य संस्थामै बच्चा जन्मिएपछि आमा र नवजात शिशु पूर्णरूपमा सुरक्षित भएको मान्न सकिँदैन। प्रसूतिपछिका केही दिनमा आमा तथा शिशुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले स्वास्थ्यकर्मीको नियमित निगरानी आवश्यक हुन्छ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार यही आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्यकर्मीलाई सुत्केरीको घरमै पठाएर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न लागिएको हो।

कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्यकर्मी घरमै पुग्नेछन्। उनीहरूले आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै आवश्यक परामर्शसमेत दिनेछन्।

स्वास्थ्य परीक्षणका क्रममा आमामा प्रसूतिपछि हुन सक्ने अत्यधिक रक्तश्राव, सङ्क्रमण, उच्च रक्तचापलगायतका समस्या पहिचान गरिनेछ। त्यस्तै, नवजात शिशुमा देखिन सक्ने विभिन्न स्वास्थ्य जटिलताको समेत परीक्षण गरिने महानगरपालिकाले जनाएको छ।

घरमै गरिएको परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या देखिएमा समयमै उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिनेछ। यसबाट आमा तथा नवजात शिशुको स्वास्थ्यमा देखिन सक्ने जोखिम समयमै पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउन सहज हुने महानगरपालिकाको अपेक्षा छ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण हुने दर ७० प्रतिशत रहेको छ। स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामध्ये यस्तो स्वास्थ्य परीक्षण हुने दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा यो दर २३ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ।

काठमाडौं महानगरपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका १ दशमलव १८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए। आर्थिक वर्ष २०८१/८२ मा यो दर बढेर ११ दशमलव १८ प्रतिशत पुगेको थियो। तर आर्थिक वर्ष २०८२/८३ मा भने घरमै सुत्केरी स्वास्थ्य परीक्षण गराउने दर घटेर ४ दशमलव ७१ प्रतिशत मा सीमित भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले घरमै पुगेर उत्तर प्रसूति स्याहार उपलब्ध गराउने व्यवस्थाले स्वास्थ्य संस्थामा पुग्न नसक्ने वा नियमित परीक्षण छुटाउने सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य निगरानीमा सहयोग पुग्ने विश्वास लिएको छ।

कार्यक्रममार्फत प्रसूतिपछिका महत्वपूर्ण दिनमा आमा र शिशुको स्वास्थ्य अवस्था पहिचान, आवश्यक परामर्श तथा उपचारका लागि समयमै रेफर गर्ने व्यवस्था प्रभावकारी बनाउने महानगरपालिकाको लक्ष्य छ।

सम्बन्धित समाचार