सुर्खेतमा मिनी बस दुर्घटना, नौ जना घाइते

561 Shares

सुर्खेत । कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब १०ः३० बजे सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित लगाम डाँडामोडमा कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मध्यम अवस्था रहेका घाइतेमध्ये हेमन्त तिमल्सिनालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको छ।

गाडीमा सवार अन्य १० जना यात्रु भने सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित यातायात समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक विष्णु शाही फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार