जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनालाई लिएर नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल अघि बढेको छ। सत्ता साझेदार नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ राजनीतिक समीकरण निर्माणको कसरत तीव्र बनेको हो।
एमालेले सरकार गठनका क्रममा भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ। एमालेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ।
एमालेले कांग्रेसबाहेकका दललाई समेटेर नयाँ सरकार गठन गर्ने विकल्पमा छलफल गरिरहेको छ। यसका लागि जसपा नेपाल, जनमत पार्टी र नेपाली कम्युनिस्ट पार्टीसहितका दलसँग सहकार्यको सम्भावना खोजिएको छ। नयाँ सरकारको नेतृत्व एमालेले गर्ने वा अन्य दललाई स्वीकार गर्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन।
मधेश प्रदेशसभामा कुनै एक दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि दलहरूबीचको सहकार्य निर्णायक हुने देखिन्छ। प्रदेशसभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्ने भएकाले एमाले र जसपा नेपालबीचको सम्भावित सहकार्यले नयाँ सत्ता समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।
एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती छ। आगामी दिनमा एमाले, जसपा नेपाल र अन्य दलबीच हुने छलफलले मधेश प्रदेशको नयाँ सरकारको स्वरूप र नेतृत्वबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।