विद्युत् महसुलमा लाग्दै आएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै उज्यालो नेपालले हस्ताक्षर अभियान सञ्चालन गरेको छ। विद्युत् उपभोक्तालाई राहत दिन तथा बिजुलीको बिलमा लाग्ने अतिरिक्त कर हटाउनुपर्ने मागसहित अभियान अघि बढाइएको हो।
विद्युत् महसुलमा भ्याट लाग्दा उपभोक्ताले तिर्नुपर्ने रकम बढ्ने भएकाले उक्त कर हटाउनुपर्ने माग अभियानमार्फत उठाइएको छ। भ्याट हटाइएमा घरायसी तथा अन्य विद्युत् उपभोक्तालाई आर्थिक भार कम गर्न सहयोग पुग्ने अभियानको अपेक्षा छ।
उज्यालो नेपाल पार्टीले गत भदौ १ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो। तर भदौ १० गते रसुवामा आएको बाढीका कारण अभियान स्थगित भएको थियो। अहिले नागरिकको सहभागितालाई निरन्तरता दिन अभियान पुनः सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका सचिव केदार खड्काले बताएका छन् ।
पार्टीले आफ्ना प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान पुनः सुरु गर्न आह्वान गरेको छ। सङ्कलित हस्ताक्षरमार्फत सरकारसमक्ष विद्युत् महसुलमा लाग्ने भ्याट हटाउन माग प्रस्तुत गर्ने पार्टीको तयारी छ।
विद्युत् महसुलमा भ्याट हटाउने मागसँगै डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापत उद्योगी–व्यवसायीबाट उठ्न बाँकी महसुल असुल गर्न पनि उज्यालो नेपालले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। पार्टीले विद्युत् क्षेत्रसँग सम्बन्धित यी विषयमा सरकारलाई दबाब दिन जनसहभागितामार्फत अभियान अघि बढाएको जनाएको छ।