बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बालबालिकासहित १४ जनाको मृत्यु

666 Shares

भारतको बिहार राज्यमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहारको वैशाली जिल्लास्थित राघोपुर क्षेत्रमा मंगलबार साँझ भएको दुर्घटनामा डुंगामा सवार यात्रुहरू नदीमा खसेका थिए। उनीहरू गंगापारिको गाउँमा भोज खान जाँदै गरेको बताइएको छ।

जिल्ला प्रशासनका अनुसार डुंगामा १५ देखि २० जनासम्म सवार रहेको प्रारम्भिक अनुमान छ। दुर्घटनापछि उद्धारकार्य सञ्चालन गरिएको छ। केही यात्रुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ भने घटनामा बेपत्ता भएकाहरूको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। त्यस्तै, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ।

सम्बन्धित समाचार