बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार सार्वजनिक बिदाको दिन गत असोज २४ गते शनिबार सरकारी सवारीसाधन प्रयोग गरी सर्वसाधारणसँग विवाद गरेको तथा अभद्र व्यवहार गरेको आरोप उनीमाथि लागेको छ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको थियो।
जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएपछि उनलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ।
सरकारी सवारीसाधन सार्वजनिक सेवाका लागि प्रयोग गरिनुपर्ने भएकाले बिदाका दिन यसको प्रयोग र त्यसक्रममा भएको व्यवहारबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको अन्तिम निष्कर्ष भने अनुसन्धानपछि स्पष्ट हुनेछ।