काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । कप्तान रोहितकुमार पौडेलको शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले क्यानडामाथि जित निकालेको हो ।
ओमानको मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए । समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभ्वा र हम्जा तारिकले समान २६ रन जोडे । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । नेपालका लागि ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरे । उनले १०७ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए ।
यस्तै, गुल्शन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए । क्यानडाका लागि अखिल कुमारले सर्वाधिक चार विकेट लिए ।
यस जितसँगै नेपालले विश्वकप लिग–२ मा १२औँ जित दर्ता गरेको छ । नेपालले खेलेका ३३ खेलमध्ये १२ मा जित, १९ मा हार र दुई खेलमा अङ्क बाँडेको छ ।
जितपछि नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । यस नतिजाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावनालाई थप बलियो बनाएको छ ।