काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन् ।
महाधिवेशनमा आफूलाई विश्वास गरेर मत दिने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै घिमिरेले पार्टी रूपान्तरणको अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका हुन् ।
महामन्त्री पदमा आफूले प्राप्त गरेको १ हजार ५१३ मतलाई उनले केवल संख्याका रूपमा नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन् ।
‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ घिमिरेले भनेका छन्, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो ।’
घिमिरेले अबको राजनीति फरक सोच, शैली र संस्कारका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई राजनीतिको प्रमुख आधार बनाउनुपर्ने उनको भनाइ छ ।
उनले महाधिवेशनबाट निर्वाचित उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने बताएका छन् ।
महामन्त्री पदमा पराजित भए पनि घिमिरेले प्राप्त मतलाई राजनीतिक यात्राको नयाँ आधारका रूपमा व्याख्या गर्दै पार्टीभित्र रूपान्तरण र वैचारिक बहसको अभियानलाई निरन्तरता दिने संकेत गरेका छन् ।