काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्।
गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा बाढीले पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै प्रचण्डले विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट हुन अपिल गरेका हुन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहनसमेत अनुरोध गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षाका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन्।