काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत विवरण सच्याउन तथा अद्यावधिक गर्न अनुरोध गरेको हो ।
समितिले सूचना जारी गर्दै अनलाइन प्रणालीमा पेस गरिएका मागदाबीको रकम राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको जनाएको छ ।
समितिका अनुसार बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएका विवरण आवश्यकताअनुसार संशोधन गर्न सक्नेछन् । त्यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गर्नुपर्नेछ । उक्त नम्बरमा प्राप्त हुने ओटीपीका आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।
मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर पुष्टि नभएको, परिचय तथा बचत प्रमाणित गर्ने कागजात संकलन नभएको वा एउटै बचतकर्ताका नाममा एकभन्दा बढी मागदाबी पेस भएको अवस्थामा आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्नेछ ।
त्यस्तै, एउटै मोबाइल नम्बर प्रयोग गरेर एकभन्दा बढी मागदाबी पेस गरिएको अवस्थामा प्रत्येक मागदाबीका लागि फरक–फरक मोबाइल नम्बर कायम गर्नुपर्ने भएमा आवश्यक विवरणसहित समितिको इमेलमार्फत निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
समितिले मागदाबीको विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधन गर्ने व्यवस्था पहिलो पटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ ।
तोकिएको समयसीमाभित्र आफ्नो मागदाबीमा उल्लेख भएका विवरण जाँच गरी आवश्यक संशोधन तथा अद्यावधिक गर्न समितिले सम्बन्धित सबै बचतकर्तालाई आग्रह गरेको छ ।