बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार टोली, जगत् गाउँबाट ६ जनाको उद्धार

386 Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन भएको छ। सेनाले पहिरोको जोखिममा रहेको गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ।

आइतबार बिहान करिब ४ः३० बजे चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढी आएको थियो।

बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी पाएपछि सेनाको उद्धार टोली परिचालन गरिएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार खोज तथा उद्धारका लागि सेनाको टोली हवाई र स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेको छ। दुवै टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा अवस्थाबारे जानकारी संकलन गर्नुका साथै जोखिममा रहेका नागरिकको उद्धार गरिरहेका छन्।

काठमाडौंमा रहेको सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट प्रभावित क्षेत्रमा तैनाथ भएको छ। टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।

यसैबीच, बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले नदीको सतह घटबढ भइरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई उच्च स्थानमा जान अनुरोध गरिएको छScreenshot 2026-10-11 095756.png

त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा भने मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ। बाढीसम्बन्धी थप जानकारीका लागि महाशाखाले ‘नेपाल बाढी सूचना’ फेसबुक पेज हेर्न वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार