गोरखा । गोरखाको आरुघाटस्थित जलमापन केन्द्रमा बूढीगण्डकी नदीको पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। नदीमा बाढीको जोखिम बढेपछि चार जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आरुघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको हो।
नदीमा पानीको सतह बढेसँगै सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर गोरखा, धादिङ, तनहुँ र चितवनका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ।
नदीमा पानीको बहाव बढ्दा तटीय बस्ती, खेतीयोग्य जमिन तथा नदी आसपासका संरचनामा क्षति पुग्न सक्ने जोखिम रहने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिमबाट बच्न नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र विपद्सम्बन्धी सूचनामा ध्यान दिनु आवश्यक छ।