काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा सिलिन्डर साटफेरको व्यवस्था मिलाउन आगामी आइतबारदेखि ६ स्थानबाट ग्यास बिक्री तथा साटफेर गरिने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म विशेष बिक्री केन्द्र सञ्चालन गरिनेछ। ती केन्द्रबाट हरेक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ।
संघले नेपाल आयल निगम र ग्यास विक्रेता महासंघसँगको समन्वयमा उपभोक्तालाई सहज सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरेको जनाएको छ।
निर्धारित केन्द्रअनुसार काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास उपलब्ध हुनेछ। पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री तथा साटफेर गरिनेछ।
त्यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध हुने व्यवस्था मिलाइएको छ।
ग्यास उद्योग संघका अनुसार चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र एउटा ब्रान्डको खाली सिलिन्डर अर्को ब्रान्डको ग्याससँग साट्न समस्या भएको गुनासो आएपछि यो व्यवस्था गरिएको हो।
संघका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यासको आपूर्ति नियमित रहे पनि उपभोक्ताको सहजताका लागि विशेष बिक्री तथा साटफेर केन्द्र सञ्चालन गर्न लागिएको बताएका छन्।
तोकिएका केन्द्रमा संघका सदस्य उद्योगका सिलिन्डर मात्र साटफेर गर्न पाइनेछ। अन्य स्थानमा भने यो विशेष व्यवस्था लागू नहुने संघले स्पष्ट पारेको छ।
संघले उपभोक्तालाई आवश्यक ग्यास खरिद तथा सिलिन्डर साटफेरका लागि तोकिएका केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।