काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ओखलढुंगाका युवा नेता कुमार लुइँटेलले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
करिब तीन दशकदेखि नेपाल विद्यार्थी संघमार्फत कांग्रेस राजनीतिमा सक्रिय लुइँटेलले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र पुस्तान्तरण, सांगठनिक रूपान्तरण र कार्यकर्ताको न्यायका लागि केन्द्रित अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले गुटबन्दीको अन्त्य गर्दै विधि र पद्धतिअनुसार चल्ने, समयसापेक्ष, प्रविधिमैत्री तथा जनमुखी कांग्रेस निर्माण गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
लुइँटेल हालै ओखलढुंगाबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। उनले प्रतिनिधिबाट प्राप्त विश्वासलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा लिएका छन्।
लुइँटेलको राजनीतिक चर्चा पछिल्लो समय ओखलढुंगाको पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धासँग पनि जोडिएको छ। जिल्लाको स्थानीय अधिवेशनका क्रममा मानेभञ्ज्याङ गाउँपालिकामा नेतृत्व चयनका विषयमा विवाद देखिएको थियो। स्थानीय नेताहरूले उक्त प्रतिस्पर्धालाई लुइँटेल र कांग्रेस नेता रामहरि खतिवडाबीचको राजनीतिक समीकरणसँग जोडेर चर्चा गरेका थिए। यद्यपि खतिवडा पक्षले सहमतिका लागि प्रयास गरिएको तर सहमति नजुटेपछि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने धारणा राखेको थियो।
यसैबीच, लुइँटेलले गत प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट पाँच मतको झिनो अन्तरले पराजय बेहोरेका थिए। त्यसपछिको राजनीतिक यात्रामा उनले पार्टी संगठन र कार्यकर्तामाझ आफ्नो सक्रियता निरन्तर बढाउँदै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ९२ जनाले उम्मेदवारी दर्ता गरेका छन्। त्यसैले खुला केन्द्रीय सदस्यतर्फको प्रतिस्पर्धा निकै फराकिलो बनेको छ।
नेपाली कांग्रेसको आधिकारिक अन्तिम उम्मेदवार सूचीमा पनि कुमार लुइँटेलको नाम खुला केन्द्रीय सदस्य पदका उम्मेदवारका रूपमा समावेश छ।