अन्तर्राष्ट्रिय युवा सांसदको मञ्चमा रबिन महतोको उम्मेदवारी
624
Shares
२१ असोज, काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभाअन्तर्गत युथ पार्लियामेन्ट फोरममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य रबिन महतोले उम्मेदवारी दर्ता गरेका छन्।
अफ्रिकी मुलुक तान्जानियाको अरुसा सहरमा जारी महासभाको दोस्रो दिन महतोले युथ पार्लियामेन्ट फोरममा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले विभिन्न देशका सांसदहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन्।
फोरमलाई सम्बोधन गर्दै महतोले विश्वका विभिन्न संसद्मा युवाको प्रतिनिधित्व अझै न्यून रहेको विषय उठाएका थिए। उनले नेपालको वर्तमान प्रतिनिधिसभामा युवा सांसदहरूको सहभागिताबारे समेत जानकारी गराएका छन्।
महतोका अनुसार नेपालको संसद्मा करिब ४३ प्रतिशत युवा सांसदको सहभागिता रहेको छ। यस्तै, सभामुख डोलप्रसाद (डीपी) अर्यालले आईपीयू महासभालाई सम्बोधन गर्दै नेपालको संघीय संसद् समावेशिताका दृष्टिले अघि रहेको बताएका छन्।
सभामुख अर्यालका अनुसार प्रतिनिधिसभामा ३५ प्रतिशत महिला, विभिन्न समावेशी समूहबाट ५१ प्रतिशत प्रतिनिधित्व, पाँच जना अपांगता भएका व्यक्ति तथा ४० वर्षमुनिका ३७ प्रतिशत युवा सांसदको सहभागिता रहेको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समेत संसद्मा प्रतिनिधित्व रहेको उनले बताएका छन्।
महतोले फोरममा नेपालमा पछिल्लो समय गएको भोटेकोशी–त्रिशूली बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको जोखिमबारे समेत धारणा राखेका छन्। उनले विपद्का समयमा युवाले निर्वाह गर्नुपर्ने भूमिका र संकट व्यवस्थापनमा युवाको सहभागिताका विषयमा पनि अन्तर्राष्ट्रिय युवा सांसदहरूको ध्यानाकर्षण गराएका छन्।
आईपीयूको १५३औँ महासभामा विभिन्न देशका सांसदहरूको सहभागिता रहेको छ। युथ पार्लियामेन्ट फोरम युवा सांसदहरूबीच अनुभव आदानप्रदान तथा युवासँग सम्बन्धित विषयमा छलफल गर्ने मञ्चका रूपमा रहेको छ।