काठमाडौं । लोक तथा दोहोरी गायक रामकुमार नेपालीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय नेपालीले आफ्नो सांगीतिक यात्रामा कलाकारका उपलब्धिसँगै उनीहरूले भोग्दै आएका संघर्ष, समस्या र चुनौतीलाई नजिकबाट अनुभव गरेको बताएका छन्।
कलाकारका यस्ता समस्या र आवाजलाई संस्थागत रूपमा उठाउँदै सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले निर्वाचनमा उम्मेदवारी दिएको उनको भनाइ छ।
नेपालीले प्रतिष्ठानलाई कलाकारको साझा संस्थाका रूपमा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने आवश्यकता रहेको बताएका छन्। उनका अनुसार संस्थामा अग्रज कलाकारको अनुभवलाई सम्मान गर्दै वर्तमान पुस्ताका आवश्यकता र नयाँ पुस्ताका सम्भावनालाई समेत प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ।
उनले कलाकारको सम्मान र पेशागत सुरक्षासँगै नयाँ पुस्तालाई अवसर तथा प्रोत्साहन, कलाकारका अधिकारको संरक्षण र लोक तथा दोहोरी गीत–संगीतको मौलिकताको संरक्षणलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
त्यसैगरी कलाकारका समस्यामा सम्बन्धित निकायसँग समन्वय गर्ने तथा प्रतिष्ठानको संस्थागत क्षमता थप सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
‘मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा कलाकारको हक, हित र भविष्यसँग जोडिएको छ,’ नेपालीले भनेका छन्।
आफ्नो लामो सांगीतिक अनुभवलाई प्रतिष्ठानको हितमा उपयोग गर्दै कलाकार समुदायका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने उनले बताएका छन्।
निर्वाचनमा आफूलाई साथ, सहयोग र मत प्रदान गर्न प्रतिष्ठानका सदस्य तथा कलाकारहरूसँग नेपालीले आग्रह गरेका छन्।
‘तपाईंको मत केवल उम्मेदवार छनोट गर्ने माध्यम होइन, कलाकारको हक, हित र भविष्यका पक्षमा व्यक्त हुने विश्वास पनि हो,’ उनले भनेका छन्।