तपाईंका लागि पूरै देश प्रार्थना गरिरहेको छ’– पाइलट स्मितलाई मोदीको फोन

1k Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गर्दै उनको साहस र सुझबुझको प्रशंसा गरेका छन् ।

गम्भीर चोट लागेका अवस्थामा समेत यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै महत्वपूर्ण निर्णय लिएको भन्दै मोदीले क्याप्टेन स्मितको प्रशंसा गरेका हुन् । कुराकानीका क्रममा मोदीले क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गर्दै भारतभर उनका लागि प्रार्थना भइरहेको बताएका छन् ।

मोदीले कठिन परिस्थितिमा आफ्नो ज्यानको समेत पर्वाह नगरी यात्रुको सुरक्षालाई प्राथमिकता दिएको भन्दै स्मितको निर्णयप्रति पूरै देश गर्व गरिरहेको बताए ।

‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ । ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ,’ मोदीले स्मितसँग भने, ‘तपाईंको साहस, धैर्य र सुझबुझले धेरै मानिसको ज्यान बचायो ।’

मोदीले आफू गम्भीर रूपमा घाइते भएर जीवन–मृत्युको संघर्षमा रहेका बेला पनि यात्रुको सुरक्षाका लागि क्याप्टेन स्मितले देखाएको साहस प्रशंसनीय रहेको बताए । उनको साहसिक कदमले १४० करोड भारतीयको शिर उँचो बनाएको मोदीको भनाइ थियो ।

‘म ती मानिसहरूलाई मर्न दिन सक्दिनथेँ’

कुराकानीका क्रममा क्याप्टेन स्मितले घटनाका क्रममा आफू लडेर गम्भीर रूपमा घाइते भएको बताए । आफूलाई धेरै चोट लागे पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भएपछि उठेर केही गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘मलाई लाग्यो, यदि म उठिनँ र कुनै कदम चालिनँ भने अवस्था अझ खराब हुन्छ । म १७ वर्षदेखि विमान उडाइरहेको छु र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु,’ उनले मोदीसँग भने ।

विमानभित्रको अवस्थाबारे आफूलाई लामो अनुभवका कारण सहजै अनुमान भइरहेको उनको भनाइ थियो । तल लडिरहेको अवस्थामा समेत अवस्था थप बिग्रिँदै गएको महसुस भएको उनले बताए ।

अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य व्यक्तिहरू त्यहाँ आउन सकेको स्मितले बताए । त्यस क्रममा आफू मात्र नभई अन्य व्यक्तिहरूको समेत महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।

‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ, तर त्यही समयमा मलाई थाहा थियो कि म ती मानिसहरूलाई मर्न दिन सक्दिनँ,’ उनले भने ।

पीडाका बेला हनुमान चालिसा पढ्ने गरेको खुलासा

मोदीसँगको कुराकानीमा क्याप्टेन स्मितले आफूलाई पीडा हुँदा हनुमान चालिसा पाठ गर्ने गरेको पनि बताए ।

उनले कठिन अवस्थामा भगवानप्रति विश्वास राख्दै हनुमान चालिसा पढ्ने गरेको र भगवानकै कृपाले आफ्नो ज्यान जोगिएको विश्वास व्यक्त गरे ।

‘जब पनि मलाई पीडा हुन्छ, मलाई एउटै कुरा याद आउँछ, म हनुमान चालिसा नै पढिरहेको हुन्छु । मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो,’ उनले भने ।

क्याप्टेन स्मितले आफूले भोगेको चोटलाई केवल घाउका रूपमा नलिएको पनि बताए । यो आफू पूर्ण रूपमा निको हुँदै जाने यात्राको एउटा हिस्सा भएको भन्दै उनले आफू स्वस्थ भएर फर्किने विश्वास व्यक्त गरे ।

परिवारको पनि प्रशंसा

मोदीले क्याप्टेन स्मितका बुवा भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको पनि उल्लेख गरेका थिए ।

उनले स्मितलाई राम्रो संस्कार दिएको भन्दै उनकी आमा गीताबेनको प्रशंसा गरे । त्यस्तै, कठिन समयमा परिवारलाई सम्हाल्दै साथ दिएको भन्दै पत्नी सोनलबेनको साहस र संयमको पनि मोदीले प्रशंसा गरे ।

मोदीका अनुसार सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुका लागि पूजाआजा तथा प्रार्थना भइरहेको छ ।

उनले पूरै भारत क्याप्टेन स्मित स्वस्थ भएर फर्किएको हेर्न प्रतीक्षारत रहेको बताए ।

क्याप्टेन स्मितको उपचार तथा हेरचाहका लागि साउदी अरब र यूएई सरकारलाई समेत मोदीले धन्यवाद दिएका छन् । आवश्यक परेको अवस्थामा आफू केवल एक फोनको दूरीमा रहेको बताउँदै मोदीले स्मित र उनको परिवारलाई साथ दिने आश्वासनसमेत दिएका छन् ।

सम्बन्धित समाचार