मध्यपूर्वमा बढ्यो सैन्य तनाव, तीन विमानवाहक पोत तैनाथ गर्दै अमेरिका

876 Shares

काठमाडौं । इरान आसपासको क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति थप बढाउने तयारी गरेको छ। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार इरान नजिक तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको छ।

अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार अमेरिकी मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेको बताइएको छ। यो सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्म पूरा हुने अधिकारीले बताएका छन्।

अमेरिकाले इरान आसपास सैन्य उपस्थिति बढाइरहेका बेला विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुज जलडमरुमा तेल ट्यांकरमा आगलागी भएको छ।

बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार होर्मुज जलडमरु हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको हो। उक्त सुपरट्यांकरमा करिब २५ लाख ब्यारेलसम्म तेल बोक्न सक्ने क्षमता रहेको जनाइएको छ।

ट्यांकरमा भएको प्रहार कसले गरेको हो भन्ने तत्काल पुष्टि हुन सकेको छैन। घटनापछि जहाजको अवस्था र सुरक्षासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।

यसअघि पनि होर्मुज जलडमरुमा व्यापारिक तथा तेल बोक्ने जहाजहरूलाई लक्षित गरी विभिन्न घटना भएका छन्। पछिल्लो घटनाले विश्वको महत्वपूर्ण ऊर्जा मार्गमा समुद्री सुरक्षासम्बन्धी चिन्ता थप बढाएको छ।

होर्मुज जलडमरु विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मार्ग हो। पछिल्लो समय इरानसँगको द्वन्द्वका कारण यस क्षेत्रमा जहाज आवतजावत र तेल तथा पेट्रोलियम पदार्थको आपूर्तिमा जोखिम बढेको छ। सेप्टेम्बरमा जलडमरु हुँदै कच्चा तेलको प्रवाह युद्धअघिको स्तरनजिक पुगे पनि प्रशोधित पेट्रोलियम पदार्थको ढुवानी भने उल्लेख्य रूपमा प्रभावित रहेको रिपोर्टहरूले जनाएका छन्।

यसैबीच, अमेरिकाले मध्यपूर्वमा करिब ९ हजार थप सैनिक र तेस्रो विमानवाहक पोत पठाउने तयारी गरिरहेको समाचार पनि सार्वजनिक भएको छ। यससँगै अक्टोबरको अन्त्यसम्म उक्त क्षेत्रमा अमेरिकी सैनिकको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एपीले जनाएको छ।

इरान आसपास बढ्दो अमेरिकी सैन्य तैनाथी र होर्मुज जलडमरुमा तेल ट्यांकरमाथिको पछिल्लो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको देखिएको छ। यद्यपि ट्यांकरमा भएको प्रहारको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले औपचारिक रूपमा लिएको पुष्टि भएको छैन।

सम्बन्धित समाचार