नेप्सेमा सामान्य वृद्धि, कारोबार पौने ५ अर्ब

722 Shares

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाली सेयर बजारमा सामान्य गिरावट आएको छ । पछिल्ला दिनमा लगातार घटिरहेको बजारमा बुधबार पनि गिरावटले निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४.८२ अंकले घटेर २ हजार ५९८.८९ विन्दुमा झरेको छ । यससँगै नेप्से परिसूचक २६ सय विन्दुभन्दा तल आएको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । बुधबार विभिन्न कम्पनीका १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर खरिद–बिक्री भएका छन् । कुल कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार कारोबारमा आएका कुल ३५२ वटा धितोपत्रमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

तीन उपसमूह बढे

बुधबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । बढ्ने उपसमूहमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.१८ प्रतिशतले बढेको छ ।

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य कमाएका छन् । बुधबार सिन्धु विकास बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेर प्रतिकित्ता ४४४ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ८.४१ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ ।

घलेम्दी हाइड्रोपावरको सेयर मूल्य पनि ७.३१ प्रतिशतले बढेर प्रतिकित्ता २७१ रुपैयाँ ५० पैसा पुगेको छ । मैलुङ खोला जलविद्युत् र पिपल्स हाइड्रोपावरको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ ।

घलेम्दी हाइड्रोपावरको सर्वाधिक कारोबार

बुधबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको करिब ३८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, पिपल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्स प्रमोटरको १८ करोड ७२ लाख रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड २८ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १४ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन सानिमा ग्रोथ फण्डको मूल्य सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ । त्यस्तै, चिर्खवा हाइड्रोपावर र सोपन फर्मास्युटिकल्सलगायत कम्पनीका लगानीकर्ताले पनि मूल्य घट्दा घाटा व्यहोरेका छन् ।

समग्रमा कारोबार रकममा सामान्य सुधार देखिए पनि नेप्से परिसूचकमा भने लगातार तेस्रो दिन गिरावट आएको छ । सोमबार नेप्से १६.४७ अंक र मंगलबार ९.६२ अंकले घटेको थियो ।

सम्बन्धित समाचार