काठमाडौं । बाढीपहिरोबाट घरबारविहीन बनेका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरिरहेका अस्थायी आवास धमाधम पूरा हुँदै गएका छन्। पहिलो चरणमा निर्माण थालिएका अधिकांश घर अहिले अन्तिम चरणमा पुगेका छन्।
निर्माणस्थलमा वाईसीएलका स्वयंसेवक तथा प्राविधिक टोली निरन्तर खटिएका छन्। केही घरको निर्माण पूर्ण रूपमा सकिएको छ भने अधिकांशमा छाना, झ्यालढोका तथा भित्री व्यवस्थापनलगायतका काम अन्तिम चरणमा पुगेका छन्।
विपद्ले घरमा क्षति पुर्याएपछि अस्थायी बसोबासको समस्यामा रहेका परिवारलाई सुरक्षित छानो उपलब्ध गराउने उद्देश्यले वाईसीएलले आवास निर्माण अभियान अघि बढाएको हो। निर्माण कार्यले गति लिएसँगै प्रभावित परिवारमा पनि छिट्टै सुरक्षित बसोबासमा फर्किन पाउने आशा बढेको छ।
पहिलो चरणमा निर्माण सुरु गरिएका घरहरू यथाशीघ्र सम्पन्न गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको वाईसीएलले जनाएको छ। आवास निर्माणसँगै प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनर्स्थापनाका कामलाई समेत निरन्तरता दिइएको छ।
बाढीपहिरोले ठूलो क्षति पुर्याएका क्षेत्रमा पुनर्स्थापनाको काम चुनौतीपूर्ण भइरहेका बेला अस्थायी आवास निर्माणलाई तीव्रता दिइएको हो। निर्माण सम्पन्न भएका घर हस्तान्तरण हुन थालेसँगै लामो समयदेखि अस्थायी आश्रयमा रहेका प्रभावित परिवारलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।