ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी

512 Shares

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने बताएकी छन्।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा मात्र नभई ज्ञान, अनुभव, सीप तथा सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्ने बताएकी हुन्।

उनले परिवार, समाज र राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।

मन्त्री बादीका अनुसार ज्येष्ठ नागरिकको दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको महत्वपूर्ण सम्पदा पनि हो।

डिजिटल माध्यमबाट ज्ञानको अभिलेखीकरण गरिने

मन्त्री बादीले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई डिजिटल प्रविधिको प्रयोगमार्फत अभिलेखीकरण गर्ने बताएकी छन्।

त्यसरी संकलन गरिएको ज्ञान तथा अनुभवलाई भावी पुस्तासम्म पुर्‍याउँदै समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित ‘अनुभव बैंक’लाई संस्थागत रूपमा अघि बढाइने उनको भनाइ छ।

यसले विभिन्न क्षेत्रमा लामो समय काम गरेका ज्येष्ठ नागरिकको व्यावहारिक ज्ञान र अनुभवलाई नयाँ पुस्ताले उपयोग गर्ने आधार तयार गर्ने सरकारको अवधारणा देखाउँछ।

ज्येष्ठ नागरिकका चुनौती सम्बोधनमा जोड

मन्त्री बादीले बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह तथा एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

सरकारले संविधान तथा प्रचलित कानुनअनुसार ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण र हेरचाहसम्बन्धी कार्यक्रम तथा सेवा प्रदान गर्दै आएको उनले उल्लेख गरेकी छन्।

यसैबीच, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३ को मस्यौदामा पनि योग्य र सक्रिय ज्येष्ठ नागरिकलाई स्थानीय तहमा सल्लाहकार तथा विषय विज्ञका रूपमा योगदान गर्ने अवसर उपलब्ध गराउने अवधारणा समेटिएको छ।

‘ज्येष्ठ नागरिकलाई राष्ट्र निर्माणसँग जोड्नुपर्छ’

मन्त्री बादीले ज्येष्ठ नागरिकलाई समाजबाट अलग राख्ने वा केवल हेरचाहको विषयका रूपमा हेर्नेभन्दा उनीहरूको क्षमता र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना पनि दिएकी छन्।

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ रहेको छ।

सम्बन्धित समाचार