काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आतिथ्य गरेको विषयलाई लिएर चेतावनी दिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाइले यूएईलाई लक्षित गर्दै इजरायली नेतृत्वलाई आतिथ्य दिएर सुरक्षा तथा स्थायित्व प्राप्त नहुने बताएका छन्।
रेजाइले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेख्दै यूएईले अमेरिकी सैन्य अड्डाहरूलाई आफ्नो भूमिमा स्थान दिँदासमेत अपेक्षित सुरक्षा प्राप्त गर्न नसकेको दाबी गरेका छन्। त्यसैगरी, उनले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई लक्षित गर्दै ‘गाजाका कसाई’लाई आतिथ्य दिएर पनि राम्रो परिणाम नआउने चेतावनी दिएका हुन्।
उनले हालैको युद्धबाट पाठ सिक्न तथा द्वन्द्वलाई थप बढाउन रोक्न यूएईलाई आग्रह गरेका छन्। साथै, इरानी द्वीपहरूका विषयमा आधारहीन दाबी नगर्न पनि रेजाइले चेतावनी दिएका छन्।
इरान र यूएईबीच तीनवटा द्वीपलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ। अबु मुसा, ग्रेटर तुन्ब र लेसर तुन्ब नामका ती द्वीपमाथि आफ्नो दाबी रहेको यूएईले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ।
यूएईले हालै संयुक्त राष्ट्रसंघमा समेत ती द्वीपमा इरानको कथित नियन्त्रणको विषय उठाउँदै इरानको आलोचना गरेको थियो। इरानले भने ती द्वीपमाथिको आफ्नो अधिकारलाई लिएर यूएईका दाबी अस्वीकार गर्दै आएको छ।
पछिल्ला महिनामा इरान र यूएईबीचको सम्बन्धमा तनाव बढेको बताइएको छ। विशेषगरी इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको अवस्थामा दुई देशबीचको मतभेद पनि सार्वजनिक रूपमा देखिन थालेको हो।
यही पृष्ठभूमिमा इरानी अधिकारीले यूएईको इजरायलसँगको सम्बन्ध र नेतान्याहूको आतिथ्यलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरेका हुन्।
रेजाइले युद्धबाट पाठ सिकेर तनाव कम गर्नेतर्फ अघि बढ्नुपर्ने सन्देश दिएका छन्। साथै, इरानसँग सम्बन्धित द्वीपका विषयमा विवाद बढाउने गतिविधि नगर्न पनि उनले यूएईलाई आग्रह गरेका छन्।