काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईको उडानमा रहेका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरको प्रशंसा गरेका छन् । उनले क्याप्टेन मच्छरलाई ‘हिरो’ भन्दै उनको साहसका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताएका छन् ।
मोदीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत क्याप्टेन मच्छरले गम्भीर जोखिमका बीच देखाएको साहसको प्रशंसा गरेका हुन् । उनका अनुसार गम्भीर रूपमा घाइते हुँदासमेत मच्छरले अरू यात्रुको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
मोदीले क्याप्टेन मच्छरको साहस र दृढ इच्छाशक्तिका कारण सयौँ मानिसको ज्यान जोगिन सहयोग पुगेको बताएका छन् । उनले मच्छरको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन मच्छरलाई ‘हिरो’ भनेका थिए । फ्लाई दुबईको विमानमा भएको असामान्य घटनाका क्रममा उनले देखाएको भूमिकालाई लिएर उनको प्रशंसा भएको हो ।
फ्लाई दुबईको फ्लाइट एफजेड १०७३ बुधबार बिहान संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको थियो । विमानमा करिब १८० जना यात्रु सवार रहेको बताइएको छ ।
उडानका क्रममा विमान साउदी अरबको आकाशमा पुगेपछि ककपिटमा रहेका दुई पाइलटबीच विवाद र हात हालाहाल भएको विवरण सार्वजनिक भएको थियो । घटनापछि विमानले आपत्कालीन संकेत पठाउँदै आफ्नो गन्तव्य परिवर्तन गरेको थियो ।
सुरुमा विमान अपहरण भएको हुनसक्ने आशंका उत्पन्न भएको थियो । तर पछि विमानभित्र दुई पाइलटबीच भएको झडपका कारण अवस्था असामान्य बनेको विवरण सार्वजनिक भयो ।
बीबीसी हिन्दीका अनुसार करिब ३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान छोटो समयमै ठूलो उचाइबाट तल झरेको थियो । विमानले लगातार आपत्कालीन संकेत पठाएपछि सम्बन्धित निकायहरू उच्च सतर्कतामा आएका थिए ।
विमानले तेल अभिभस्थित बेन गुरियन विमानस्थलमा अवतरण गर्नुपर्ने भए पनि परिस्थितिका कारण साउदी अरबको तबुक विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो ।
विमान अचानक उचाइ घटाउँदै दिशा परिवर्तन गर्न थालेपछि यात्रुहरूमा त्रास फैलिएको थियो । विमानभित्र पाइलटहरूबीच झडप भएको र यात्रु तथा क्याबिन क्रुले हस्तक्षेप गर्नुपरेको विवरणसमेत सार्वजनिक भएको छ ।
एक विवरणअनुसार ककपिटमा भएको झडप नियन्त्रणमा लिन क्याबिन क्रुले यात्रुको सहयोग मागेका थिए । त्यसपछि केही यात्रुले झगडामा संलग्न एक पाइलटलाई नियन्त्रणमा लिएको बताइएको छ ।
विमानमा चक्कु बोकेको एक यात्रु रहेको विषय पनि घटनासँगै सार्वजनिक भएको थियो । यद्यपि घटनाको सम्पूर्ण कारण र त्यसक्रममा भएका गतिविधिबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
भारतीय दूतावासका अनुसार क्याप्टेन स्मित मच्छर अस्पतालमा उपचाररत छन् र उनको अवस्था स्थिर रहेको जनाइएको छ । प्रधानमन्त्री मोदीले मच्छरको साहसका कारण सयौँ मानिसको जीवन जोगिन सहयोग पुगेको बताएका छन् । उनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतलाई उनीप्रति गर्व रहेको बताएका छन् ।
फ्लाई दुबईले घटनाको पुष्टि गर्दै सम्बन्धित पाइलटहरूलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण तथा उडानका क्रममा भएको गतिविधिबारे थप विवरण अनुसन्धानपछि स्पष्ट हुने अपेक्षा गरिएको छ ।