काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले फेरि संसद्मा प्रश्न उठाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको केही भूमि मिचेको बताएका थिए । उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसको कडा विरोध गर्दै प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने र अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
सीमासम्बन्धी प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकसमेत प्रभावित भएको थियो । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने माग गर्दै संसद्को कारबाही अवरुद्ध गरेका थिए ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइले नेपालले सीमासम्बन्धी विषयमा राख्दै आएको आधिकारिक अडानबारे प्रश्न उठेको बताएका छन् । उनीहरूले संवेदनशील कूटनीतिक विषयमा प्रधानमन्त्रीले संसद्मा बोलेको अभिव्यक्तिको स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।
यता सरकारले भने प्रधानमन्त्रीको भनाइलाई ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार जग्गाको भोगचलन तथा दशगजा क्षेत्रमा देखिएका व्यावहारिक समस्यासँग सम्बन्धित रहेको स्पष्ट पारिसकेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रधानमन्त्रीको भनाइको सन्दर्भ यही प्राविधिक अवस्थासँग जोडिएको बताएका थिए ।
परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीले संसद्मा उल्लेख गरेको विषय दशगजा क्षेत्र अतिक्रमण र सीमापार जग्गा भोगचलनसँग सम्बन्धित रहेको जनाएको थियो । सरकारले नेपाल–भारत सीमा क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न दुवै देशका संयन्त्रमार्फत नक्सांकनको काम भइरहेको र विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ ।
तर विपक्षी दलहरूले भने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफ्नो प्रश्न कायमै राखेका छन् । यसअघि पनि प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइबारे सरकारसँग जवाफ माग्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए ।
सीमासम्बन्धी विषयलाई लिएर सत्तापक्ष र विपक्षीबीच देखिएको मतभेदका कारण संसद्मा पुनः यो विषयले प्रवेश पाउने देखिएको छ । विपक्षी सांसदहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग्ने तयारी गरेसँगै आगामी बैठकमा सीमासम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किन सक्नेछ ।