दुबईबाट इजरायलतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमान अपहरणमा परेको आशंका गरिए पनि घटना पाइलटहरूबीच भएको विवादका कारण सिर्जना भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बुधबार उडानका क्रममा विमानबाट आपत्कालीन संकेत जारी भएपछि अपहरणको आशंका गरिएको थियो। त्यसपछि विमानलाई साउदी अरबको तबुकतर्फ डाइभर्ट गरिएको थियो। घटनापछि सुरक्षाका लागि लडाकु विमानसमेत परिचालन गरिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानका दुई पाइलटबीच ककपिटमै विवाद तथा कुटाकुट भएको थियो। त्यसक्रममा विमानबाट ७५०० कोड जारी भएपछि अपहरणको आशंका बढेको थियो। ७५०० कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग गरिन्छ।
विमानमा १७४ जना यात्रु रहेको र सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ। विमान साउदी अरबको तबुकमा सुरक्षित रूपमा अवतरण गरिएको छ।
फ्लाइदुबईले पनि पाइलटहरूबीच भएको विवादका कारण विमान डाइभर्ट गरिएको जनाएको विवरण सार्वजनिक भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घटनाले केही समय इजरायलमा सुरक्षा सतर्कता बढाएको थियो। विमान अपहरण भएको आशंकामा सम्बन्धित सुरक्षा निकायले तत्काल उच्च सतर्कता अपनाएका थिए। पछि पाइलटहरूबीचको विवादका कारण घटना भएको विवरण आएपछि अपहरणको आशंका हटेको हो।