काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ।
असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनका लागि प्रतिनिधि शुल्क तय गरिएको हो। कांग्रेसको यसपटकको महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या पनि बढ्ने भएको छ।
निर्वाचन समितिका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। यसपटक भने करिब ७ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
यसपटक विधान संशोधन गरी एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको संख्या पनि बढाइएको छ। यसअघि एक प्रतिनिधिसभा क्षेत्रबाट २६ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेकामा अहिले ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।
महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बस्दा लाग्ने शुल्क भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनका क्रममा उम्मेदवारी शुल्क भने विभिन्न पक्ष तथा पदअनुसार फरक–फरक तोकिएको छ। केन्द्रीय नेतृत्वका विभिन्न पदका लागि उम्मेदवारी शुल्कसम्बन्धी व्यवस्थासमेत सार्वजनिक भइसकेको छ।