‘लोडसेडिङ हुँदैन’ भन्दैमा पुग्दैन, पूर्वतयारी आवश्यक : कुलमान

407 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिमा समस्या नआउने भनेर मात्र आश्वस्त पार्नु पर्याप्त नहुने बताएका छन्। उनले सम्भावित ऊर्जा संकट व्यवस्थापनका लागि वैकल्पिक उपायमा तत्कालै ठोस काम थाल्नुपर्नेमा जोड दिएका छन्।

घिसिङले विगतमा पनि विद्युत् आपूर्ति व्यवस्थापन, उत्पादन वृद्धि, प्रसारण संरचना विस्तार र विद्युत् खपत बढाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। उनका अनुसार विद्युत् उत्पादन मात्रै बढाएर पुग्दैन, त्यसलाई प्रसारण तथा वितरण प्रणालीमार्फत उपभोक्तासम्म पुर्‍याउने पूर्वाधार पनि सुदृढ बनाउनुपर्छ।

यसअघि पनि घिसिङले विद्युत् संकटलाई केवल ‘लोडसेडिङ हुन्छ कि हुँदैन’ भन्ने विषयमा सीमित गर्न नहुने बताएका थिए। उनले प्रसारण लाइन, सबस्टेसन र ट्रान्सफर्मरमा हुने ओभरलोडका कारण पनि विद्युत् आपूर्तिमा समस्या आउन सक्ने उल्लेख गरेका थिए।

पछिल्लो समय बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा क्षति पुगे पनि आगामी हिउँदमा लोडसेडिङ हुने अवस्था नरहेको घिसिङले बताएका छन्। भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा ठूलो क्षति पुगेको भए पनि आपूर्ति व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।

घिसिङले विद्युत् क्षेत्रमा दीर्घकालीन योजना बनाएर उत्पादन, प्रसारण र वितरण तीनै क्षेत्रमा एकसाथ काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। नेपालमा विद्युत् उत्पादन बढ्दै गएसँगै भविष्यमा उत्पादित बिजुलीको बजार र खपत व्यवस्थापन पनि महत्वपूर्ण चुनौती बन्ने उनको धारणा छ।

सम्बन्धित समाचार