बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सरकारको तयारी, हिउँदमा लोडसेडिङ हुन नदिने दाबी

470 Shares

काठमाडौं । आगामी हिउँदमा विद्युत् माग बढ्ने अनुमानसँगै बाढीपहिरोबाट जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा पुगेको क्षतिले आपूर्ति व्यवस्थापनमा थप चुनौती सिर्जना भएपछि सरकारले तयारी तीव्र बनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हिउँदमा हुन सक्ने विद्युत् माग र आपूर्तिबीचको दबाब व्यवस्थापन गर्न आवश्यक अध्ययन तथा काम अघि बढाएको हो। प्राधिकरणले हिउँदमा लोडसेडिङ हुन नदिने गरी तयारी भइरहेको जनाएको छ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली करिडोरका प्रसारण संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। त्रिशूली–३ बी हब सबस्टेसनमा क्षति पुगेपछि त्यस क्षेत्रमा उत्पादित करिब १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो।

हिउँदमा आन्तरिक विद्युत् उत्पादन घट्ने भएकाले प्राधिकरणले भारतबाट विद्युत् आयात गर्ने तयारीसमेत अघि बढाएको छ। आगामी हिउँदमा भारतबाट १ हजार १५४ मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरिएको छ। हिउँदमा नेपालको आन्तरिक विद्युत् उत्पादन करिब १ हजार २१८ मेगावाटमा सीमित हुने अनुमान छ।

गत वर्ष हिउँदमा नेपालको उच्चतम विद्युत् माग २ हजार २९२ मेगावाट पुगेको थियो। यसपटक माग अझ बढ्न सक्ने भएकाले आन्तरिक उत्पादन र आयातित विद्युत्बीच सन्तुलन कायम गर्न प्राधिकरणले पूर्वतयारी थालेको हो।

प्राधिकरणले काठमाडौं उपत्यकामा निर्माणाधीन प्रसारण तथा वितरण आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। बाढी प्रभावित नुवाकोट र रसुवामा विद्युत् आपूर्ति थप भरपर्दो बनाउन वैकल्पिक व्यवस्था खोज्नुका साथै क्षतिग्रस्त देवीघाट सबस्टेसन पुनः सञ्चालन गर्न सकिने–नसकिनेबारे स्थलगत अध्ययन भइरहेको छ।

हिउँदको विद्युत् व्यवस्थापनका लागि प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले दैनिक प्रगति विवरण कार्यकारी निर्देशकलाई बुझाउने तथा कामका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउने व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यकामा विद्युत् माग निरन्तर बढिरहेका कारण उपलब्ध प्रसारण तथा वितरण पूर्वाधारमाथि समेत दबाब बढेको छ। उपत्यकामा करिब ७०० मेगावाटसम्म विद्युत् भित्र्याउन सक्ने पूर्वाधार रहे पनि पिक डिमान्ड ६०० मेगावाट नाघिसकेको छ।

यस अवस्थामा हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन आयात, प्रसारण संरचनाको सुदृढीकरण तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापनालाई प्राधिकरणले प्राथमिकतामा राखेको छ।

 
 
सम्बन्धित समाचार