काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल २८ वर्षभन्दा बढी लामो निजामती सेवाबाट अनिवार्य अवकाशमा गएका छन्। उनले मंगलबारबाट सचिवको जिम्मेवारीसहित निजामती सेवाबाट बिदा लिएका हुन्।
सिग्देलले निजामती सेवामा २८ वर्ष ५ महिना बिताएका छन्। २०५५ साल वैशाख १५ गते इन्जिनियर पदमा सिँचाइ विभागबाट सरकारी सेवामा प्रवेश गरेका उनी सिडिई हुँदै सहसचिव र सचिव बनेका थिए।
उनी २०७८ साल असोज १४ गते सचिवमा बढुवा भएका थिए। सचिवका रूपमा करिब पाँच वर्ष जिम्मेवारी सम्हालेका सिग्देलले सडक, सिँचाइ, ऊर्जा, सहरी विकास तथा पूर्वाधारका विभिन्न क्षेत्रमा काम गरेका थिए। सडक विभागको महानिर्देशकको जिम्मेवारीसमेत उनले सम्हालेका थिए।
पूर्वाधार विकास मन्त्रालयमा उनको बिदाइका लागि मन्त्री सुनिल लम्साल तथा मन्त्रालयका कर्मचारीको उपस्थितिमा कार्यक्रमसमेत आयोजना गरिएको थियो।
सिग्देल सार्वजनिक खरिदका विषयमा विशेष दख्खल राख्ने अधिकारीका रूपमा चिनिन्थे। पूर्वाधारसँग सम्बन्धित विभिन्न सरकारी निकायले सार्वजनिक खरिदका विषयमा उनीसँग परामर्श लिने गरेको उल्लेख गरिएको छ।
तनहुँमा जन्मिएका सिग्देलले बर्दियाबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्रिचन्द्र कलेजबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र जर्मनीबाट जलस्रोत विषयमा स्नातकोत्तर गरेका छन्।
इन्जिनियरका रूपमा निजामती सेवामा प्रवेश गरेका सिग्देलले करिब तीन दशक सरकारी सेवामा रहेर विभिन्न प्राविधिक तथा प्रशासनिक जिम्मेवारी सम्हालेपछि सचिव पदबाट अवकाश लिएका हुन्।