वासिङ्टन । अमेरिकाको सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई अमेरिकामा रहेका आप्रवासीलाई उनीहरूको मूल देश नभई तेस्रो देशमा निर्वासन गर्ने प्रक्रिया तत्काल अघि बढाउन अनुमति दिएको छ।
अदालतले तल्लो अदालतको त्यस्तो निर्वासनमा जानुअघि आप्रवासीलाई पर्याप्त सूचना दिनुपर्ने र आफूलाई जोखिम रहेको विषयमा चुनौती दिने अवसर दिनुपर्ने आदेशलाई तत्कालका लागि रोकिदिएको हो। सर्वोच्च अदालतले यो मुद्दाको मूल कानुनी प्रश्नमा भने पछि विस्तृत सुनुवाइ गर्ने जनाएको छ।
यससँगै अमेरिकी प्रशासनले आप्रवासीलाई उनीहरूको नागरिकता भएको देशबाहेक अन्य मुलुकमा समेत पठाउने प्रक्रिया पुनः तीव्र बनाउन सक्ने भएको छ।
यसअघि संघीय अपिल अदालतले तेस्रो देशमा निर्वासन गर्नुअघि सम्बन्धित व्यक्तिलाई आफूलाई त्यहाँ उत्पीडन वा यातनाको जोखिम रहेको विषयमा अर्थपूर्ण रूपमा चुनौती दिने अवसर दिनुपर्ने फैसला गरेको थियो।
अमेरिकी सरकारको तेस्रो देश निर्वासन नीतिमाथि आप्रवासी अधिकार समूह र कानुनी पक्षबाट लामो समयदेखि चुनौती हुँदै आएको छ। उनीहरूले तेस्रो देशमा पठाइएका व्यक्तिहरूलाई पुनः अर्को देशमा पठाइने, हिरासतमा दुर्व्यवहार हुने वा उत्पीडनको जोखिम रहने भन्दै कानुनी सुरक्षा आवश्यक रहेको तर्क गर्दै आएका छन्। सर्वोच्च अदालतमा पेस गरिएको कागजातमा सन् २०२५ र २०२६ मा २५ हजारभन्दा बढी व्यक्तिलाई कम्तीमा २८ वटा तेस्रो देशमा पठाइएको दाबी गरिएको छ।
सर्वोच्च अदालतको पछिल्लो आदेशले भने यो नीतिको अन्तिम कानुनी वैधता निर्धारण गरेको होइन। अहिलेका लागि प्रशासनलाई निर्वासन प्रक्रिया अघि बढाउने बाटो खुलेको हो, जबकि नीतिसम्बन्धी मूल कानुनी विवाद अदालतमा विचाराधीन नै रहनेछ।