काठमाडौं, असोज १४ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण उपयुक्त समयमा हुने र भ्रमणलाई परिणाममुखी बनाउने तयारी भइरहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति भने अहिलेसम्म तय नभएको जानकारी दिए।
उनका अनुसार नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निम्तो आएको थियो। सरकारले उक्त निम्तोलाई सकारात्मक रूपमा लिँदै उपयुक्त अवसरमा भ्रमण गर्ने तयारी गरिरहेको छ।
‘सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौँ,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’
मन्त्री खनालले भ्रमणको मिति निश्चित नभए पनि त्यसलाई फलदायी र ठोस उपलब्धि हासिल हुने गरी अघि बढाउने विषयमा दुवै पक्षको अपेक्षा रहेको बताए।
‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ,’ उनले भने।
प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार गठनलगत्तै भारत भ्रमणको निम्तो दिएका थिए। नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय सहकार्यका विषयमा यसअघि पनि राजनीतिक तथा कूटनीतिक तहमा छलफल हुँदै आएको छ।
यसअघि परराष्ट्रमन्त्री खनालले पनि भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग प्रधानमन्त्रीको भारत भ्रमणलगायत द्विपक्षीय विषयमा छलफल गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार व्यापार, लगानी, ऊर्जा, पर्यटन तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको थियो।