चार दिनको वर्षामा २७ जनाले गुमाए ज्यान, २२७ घरमा पूर्ण क्षति

736 Shares

काठमाडौं । गत बिहीबारदेखि आइतबारसम्म देशभर परेको भारी वर्षाका कारण २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भारी वर्षाका कारण भएका बाढी, पहिरो तथा डुबानलगायतका विभिन्न घटनामा परी २७ जनाले ज्यान गुमाएका छन् । घटनामा चार जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् ।

अविरल वर्षाका कारण देशभर १ हजार ८२ परिवार प्रभावित भएका छन् । वर्षाका कारण २२७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ । क्याप स्थापना गर्न २२ जना नेपाली हिमलुङ हिमाल पुगेका थिए । हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य हेलिकोप्टरमार्फत जारी रहेको जनाइएको छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अतिभारी वर्षा भएको थियो ।

उक्त अवधिमा बाढी, पहिरो, डुबानलगायतका ५४२ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ । वर्षाका कारण विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा परिवार प्रभावित भएका छन् ।

सम्बन्धित समाचार